Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कांग्रेस १४औं महाधिवेशन

काग्रेस महाधिवेशन : दोस्रो चरणमा देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय

काग्रेस महाधिवेशन : दोस्रो चरणमा देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय

देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का
  • मंगलवार, मंसिर २८ २०७८

  • 730
    SHARES

  • काग्रेस महाधिवेशन : दोस्रो चरणमा देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

    पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् । उनीहरुबीच केहीबेर अघि मात्रै चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको हो । भेटपछि सिंहले पत्रकारहरूसँगको कुराकानीमा देउवालाई आफ्नो समर्थन रहने बताएका हुन् ।

    देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको उनले बताए । समर्थनबारे जानकारी दिँदै उनले भने, 'देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई सहयोग गर्नुस् भन्नुभएको छ । विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।'

    महाधिवेशन प्रतिनिधिको मतलाई अगाडि बढाउने र पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा देउवा सहमत भएकाले आफूले समर्थन गरेको सिंहको भनाइ छ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।

    सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।

    पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।

    कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

    दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । हिजो मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ ।

     


    मंगलवार, मंसिर २८ २०७८१२:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij