काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार गगन थापाले आफूहरु कसैलाई हराउन नभइ सिंगो कांग्रेस पार्टीलाई जिताउन उम्मेदवार भएको बताउनुभएको छ । मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहिरहेको बताउनुभयो ।
‘कसैलाई हामी हराउँदैछैनौँ । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौँ,’ गगनले भन्नुभयो । थापाले भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताउनुभयो ।
थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । कांग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
नेता थापाले सफा, पवित्र र निश्चल कांग्रेस शेखर कोईरालाको नेतृत्वमा देखिने भएकोले आफूहरूलाई जिताउन आग्रह गर्नुभयो ।
सभापतिका उम्मेदवार शेखर कोइराला पत्रकारहरुको प्रश्नको जवाफ दिँदै गर्दा हलमा गगन थापाको प्रवेश भएको थियो । सहभागीहरूले गगनप्रति समर्थन जनाउदै चर्काे हुटिङ गरेका थिए । हुटिङ गरिरहेका समर्थकलाई गगनले शान्त रहन आग्रह गर्नुपरेको थियो ।
पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टीको नेतृत्व परिवर्तन भएपनि अहिलेकै सरकारले चुनाव गराउने बताउनुभयो ।
सभापतिमा उम्मेदवारी दिनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो कार्यकर्ताहरूसँग भोट माग्दै आफूले सभापति हारे सरकार पनि फेरिने तर्क गर्नुभएको थियो । पार्टी सभापति हारेको व्यक्तिले नैतिकताका आधार प्रधानमन्त्री भइरहन नपाइने देउवाको भनाइ थियो ।
त्यसप्रति जवाफ दिँदै शेखरले पार्टीको नेतृत्व फेरिने तर अहिलेको गठबन्धन सरकारलाई झन् मजबुद् बनाएर चुनावसम्म लैजाने दाबी गर्नुभयो । उहाँले कांग्रेस नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद आफ्नो टिमलाई भएको पनि दाबी गर्नुभयो ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भोलि सभापतिसहित केन्द्रीय सदस्य छान्न मतदान हुँदैछ ।