काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ । उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पार्नुभएको हो । जुन प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बन्नुभएको छ ।
यसैगरी देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिनुभएको छ ।
यस्तै सहमहामन्त्रीका लागि आदिवासी जनजातिको तर्फबाट भीष्मराज आङ्देम्बे, दलित तर्फबाट मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पीछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार बन्नुभएको छ ।
प्रधानमन्त्री देउवा प्यानलसहित उम्मेदवारी दर्ता गर्न पुग्नुभएको थियो ।