काठमाडौँ । सेयर बजार ओरालो लाग्ने क्रम आज पनि निरन्तर रहेको छ । साताको चौथो कारोबार दिन बुधबार(आज) सेयर बजारमा ५३.१० अंकको उच्च गिरावट आएको हो ।
यो साताको पहिलो कारोबार दिन (आइतबार) घटेर सुरुआत गरेको पुँजीबजार मापक परिसूचक (नेप्से) सोमबार ३२.२२ अंकले बढेको थियो । तर, मङ्गलबार पुनः ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा ओर्लिन पुग्यो ।
आज कारोबार बन्द हुँदासम्म ५३.१० अंकले घटेर नेप्से २ हजार ४ सय ५५.८१ विन्दुमा पुगेको छ । आज समग्र नेप्से २.१२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।
यस दिन कारोबार रकम पनि दुई अर्ब ६६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । नेप्सेका अनुसार आज कूल कूल २२६ वटा कम्पनीका ६५ लाख ६० हजार ९४७ कित्ता सेयर ४२ हजार ९४६ पटक किनबेच भएका थिए ।
कारोबार भएकामध्ये सात वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । बाँकी १८१ कम्पनीको मूल्य घट्न पुगेको छ ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.३४ अंकले घटेर ४ सय ६४.७९ विन्दुमा ओर्लिएको छ । आज सबै उपसमूहको परिसूचक राताम्य बनेको छ ।