काठमाडौँँ । नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाउनुभयो । उहाले प्रमुख राजनीतिक दलहरूलाई भेट्दा पनि सबैले उहाको विपक्षमा अभिव्यक्ति दिएकाले प्रधानन्यायाधीशको बहिगर्मनले नै न्यायालय शुद्ध हुने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीले सरकारले तत्काल प्रधानन्यायाधीशलाई दिइरहेको सवारी साधनको सुविधा र सुरक्षाको सुविधा खोस्नुपर्ने बताउनुभयो । उहाले प्रधानन्यायाधीशले पदअनुसार काम गर्न नसकेको भन्दै अब प्रधानन्यायाधीशलाई सरकारी सुविधा दिइरहनु नपर्ने बताउनुभयो । उहाले अहिले प्रधानन्यायाधीश एउटा मूर्ति जस्तै भएको बताउँदै न्यायमा सक्रिय हुने, न्यायपालिकाको नेतृत्व गर्ने मान्छे मात्रै प्रधानन्यायाधीश हुनसक्ने बताउनुभएको छ ।
वरिष्ट अधिवक्ता उप्रेतीले पदीय आचरणअनुसार काम गर्न नसकेको भन्दै प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिन दवाव दिनुभएको छ ।