Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जबरालाई महाअभियोग लाइदिन बालकोटमा बारका नेताहरूको गुहार, ओलीले नाजवाफ पारेर फर्काए

जबरालाई महाअभियोग लाइदिन बालकोटमा बारका नेताहरूको गुहार, ओलीले नाजवाफ पारेर फर्काए

  • मंगलवार, मंसिर २१ २०७८

  • 597
    SHARES

  • जबरालाई महाअभियोग लाइदिन बालकोटमा बारका नेताहरूको गुहार, ओलीले नाजवाफ पारेर फर्काए

    काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन गुहार माग्दै बालकोट पुगेका नेपाल बारका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नाजवाफ बनाएर फर्काएका छन् ।

    नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित वरिष्ठ अधिवक्ताहरू आज प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन सहयोगको याचना गर्दै बालकोटस्थित ओली निवास पुगेका थिए । तर ओलीले उनीहरूलाई नाजवाफ बनाएर फर्काइदिए ।

    रोचक कुरा त के भने ओलीका घोर विरोधीका रूपमा चिनिने वरिष्ठ अभिवक्ताहरू शम्भु थापा, कृष्णप्रसाद भण्डारी र रमण श्रेष्ठ लगायतले आज बालकोटमा ओलीको जेल जीवन र संघर्षको कथा स्मरण गराउँदै प्रशंसाका कुनै शब्द बाँकी राखेनन् ।

    केपी ओलीविरुद्ध सडक र अदालतमा नेतृत्व गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले विगतका कतिपय मुद्दा बिर्सेर आफूहरूलाई सघाउन ओलीलाई आग्रह गर्नुभयो ।

    भेटका क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित नहुने भएकोले सहयोग गर्न ओलीलाई आग्रह गर्नुभयो । सत्ता गठबन्धनले महाअभियोग लगाउन सहमति जनाएको संकेत गर्दै उहाँले एमालेको सहयोग भएमात्र पारित हुने भएकाले ओलीको सहयोग माग गरिएको बताउनुभयो ।

    उहाँले चोलेन्द्र शमशेर भ्रष्टाचारीको नाइके भएकाले अदालतमा राख्न नहुने बताउनुभयो । बारका नेताहरूको कुरा सुनिसकेपछि ओलीले आफूविरुद्धको परमादेशमा सेटिङ मिलाएकोमा वकिलहरूप्रति कुनै गुनासो नरहेको भन्दै आफ्नो भनाइ सुरू गर्नुभयो ।

    प्रधानन्यायाधीशसहितका न्यायाधीश, वकिलहरू सबै सत्ता गठबन्धनको हिस्सा भएको बताउँदै ओलीले महाअभियोग लगाउने हो भने आफ्नै सत्ता गठबन्धनलाई भन्नसमेत सुझाव दिनुभयो । तर सत्ता गठन्बन्धनले कुनै हालतमा जबराविरुद्ध महाअभियोग दर्ता नगर्ने ओलीले दाबी गर्नुभयो ।

    ओलीसँगको भेट बिट मार्ने क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले के आश्वासन बोकर फर्काैँ भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा ओलीले वकिलहरूको माग २० प्रतिशत मात्रै आएकोले सय प्रतिशत पु¥याएर आउन आग्रह गर्नुभयो ।

    ओलीले यसअघि पनि प्रधानन्यायाधीश मात्रै नभई आफ्नो सरकार ढालेर देउवा सरकार गठनका लागि परमादेश दिने पाँचै जना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताउँदै आउनुभएको छ । केही दिनअघि सत्ता गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका थिए ।


    मंगलवार, मंसिर २१ २०७८०७:४३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij