नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्न बैठक राखेका छन् । प्रदेश अधिवेशनको परिणाम समिक्षा र अबको रणनीतिबारे छलपल गर्न इतरपक्षका शीर्ष ४ नेता छलफलमा जुटेका हुन् ।
आज साँझ पौडेल निवास बोहराटारमा उक्त समूहका नेताहरू छलफलमा जुटेका छन् । पौडेलसहित उनी पक्षका नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापति पदका आकांक्षी छन् ।
चार जना आकांक्षीमध्ये एक जना सभापतिमा उठ्ने गरी छलफल गरिएको पौडेलनिकट स्रोतले जनाएको छ । महाधिवेशन आउन चार दिनमात्रै बाँकी हुँदा पौडेलले सर्वसम्मत रूपमा सभापति उम्मेदवार छान्न बैठक बोलाएका हुन् ।
सभापतिमा शेरबहादुर देउवा फेरि उठ्ने तयारीमा छन् । देउवासँग प्रतिस्पर्धा गर्न पौडेल पक्षले एक मात्र उम्मेदवार दिने बताइरहेका छन् तर आकांक्षी धेरै हुँदा सहमति भइसकेको छैन ।
कोइराला परिवारको वंशविरासत रहेको प्रदेश १ को सभापतिमा पौडेल–कोइराला समूहका उम्मेदवार गुरुराज घिमिरे हारेपछि यो समूह झस्केको छ ।
६ प्रदेशको नतिजा आउँदा पौडेल समूहले लुम्बिनी र गण्डकीमा मात्रै जित्न सक्यो । प्रकाशमानले आफ्नो गढ बताउँने बागमतीमा पनि कांग्रेसको संस्थापन समूहले विजय हासिल गरेको छ । देउवा समूहले सुदूरपश्चिम, कर्णाली र बागमती जित्दा उसको सहयोगमा प्रदेश १ मा सिटौला समूहले बाजी मारेको हो ।