काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताउनुभएको छ ।
चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक त जित्यौँ । तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन् । प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन् । हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौँ । तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला ।’
गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको घटना तर्फ इङ्गित गर्दै त्यति बेला नै प्रतिगमनतिर जाने षडयन्त्र भएको दाबी गर्नुभयो । उहाँले त्यसबेला पत्रकारहरुले पनि जनमत निर्माण गर्न मद्दत पु¥याएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
विश्वभर पराजित शक्तिले पुनस्र्थापित हुन षडयन्त्र गर्ने गरेको पाइएको बताउँदै अध्यक्ष प्रचण्डले नेपालमा पनि निरंकुश राजतन्त्र अन्त्य भएपछि यो कुरा देखिएको जिकिर गर्नुभयो । उहाँले प्राप्त उपलब्धिहरुलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुको हमलाबाट बचाउन प्रेस सुदृढ हुन आवश्यक रहेको पनि बताउनुभयो ।
फरक प्रसङ्गमा नेकपा एमालेको महाधिवेशनप्रति इङ्गित गर्दै त्यहाँ विचित्रको ध्रुवीकरण देखिएको पनि उल्लेख गर्नुभयो । यस्तै, उहाँले पुराना राजनीतिक दलहरुले संविधानसभा, गणतन्त्र, महिला र सबै उत्पीडित समुदायको अधिकार गाउँमा जाओस् भन्ने नचाहेको बताउनुभयो ।