काठमाडौँ । सर्लाहीमा कांग्रेसको अधिवेशन गराउनका लागि केन्द्रीय निर्वाचन समितिले चौथो पटक निर्वाचन अधिकृत खटाएको छ । यसअघि पटक–पटक गरी खटिएका तीन जनाले अधिवेशन गराउन नसकेर राजीनामा दिएपछि समितिले चौथोपटक अरुण ज्ञवालीलाई निर्वाचन गराउने जिम्मा दिएर पठाएको हो ।
केन्द्रीय महाधिवेशन आउन एक सातामात्रै बाँकी हुँदा पनि सर्लाहीमा भने वडा तहकै अधिवेशन सकिएको छैन । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले चौथो पटक ज्ञवालीलाई पठाएर चुनाव गराउने प्रयास भइरहेको बताउनुभयो ।
गुटगत विवादका कारण सर्लाहीमा वडादेखि सबै तहको अधिवेशन प्रभावित भएको छ । पहिलोपटक निर्वाचन गराउन गएका विनोद कार्की विवाद मिल्न नसकेपछि राजीनामा दिएर फर्किनुभएको थियो । त्यसपछि दिवाकर पाण्डेलाई निर्वाचन अधिकृतका रुपमा खटाइयो ।
मलङ्गवास्थित पार्टी कार्यालयमा बास बसेका पाण्डेलाई गुटगत विवादका कारण एक पक्षले मरणाशन्न हुनेगरी कुटपिट गरेपछि उहाँ पनि फर्किनुभएको थियो ।
पाण्डेलाई सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद अमरेशकुमार सिंह पक्षीय कार्यकर्ताले कुटपिट गरेको इतर समूहको आरोप छ ।
त्यसपछि भरत राउतलाई निर्वाचन गराउन तेस्रो अधिकृतका रूपमा केन्द्रीय निर्वाचन समितिले सर्लाही पठाएको थियो । उहाले सर्लाहीका २०० मध्ये १९० वडामा वडामा पार्टीको अधिवेशन सम्पन्न गराउनुभयो ।
सर्लाहीको १० वटा वडामा अझै विवाद छ । विवाद देखिएकामध्ये धेरैजसो संघीय सांसद सिंहको निर्वाचन क्षेत्रका वडाहरू छन् ।
वडादेखि पालिका अधिवेशन प्रभावित भएपछि जिल्ला सम्मका अधिवेशनहरूलाई थाति राखेर प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने मनस्थितिमा त्यहाँका नेताहरू पुगेका छन् ।
शुक्रबार (आज) सबै प्रदेशमा प्रदेश अधिवेशनका लागि मनोनयन दर्ता भइरहँदा सर्लाहीमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराउने तयारी थियो । तर, एक दिनअघि निर्वाचन अधिकृत हिँडेपछि दुवै अधिवेशन प्रभावित भएका छन् ।
सर्लाही विवादकै कारण प्रदेश २ मा आज मनोनयन रोकिएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव श्रेष्ठले सर्लाहीमा आज प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सकेर भोली मनोनयन दर्ताका लागि कार्यतालिका निर्धारण गरिएको बताउनुभयो ।