काठमाडौँ । कोरोना भाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनुभएको छ ।
सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उहाँ शुक्रवार (आज) बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा. प्रविण नेपालले बताउनुभयो ।
कोभिड निमोनिया भएपछि उहाँ १३ मंसिरमा अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ ।
जबराको पिसीआर रिपोर्ट नेगेटिभ आए÷नआएको चाहिँ खुलाइएको छैन ।
उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि सरकारी निवास बालुवाटारबाट प्रशासनिक काममा निर्देशन दिने बुझिएको छ । तर पाँच दलीय सत्तारुढ गठबन्धनले भने बिदा लिएर कार्यबाहक दिन आग्रह गरेको छ ।
जबराले सरकार गठनमा हस्तक्षेप गरेको भन्दै नेपाल बार एसोसिएसनबाट चर्को आलोचना खेप्नु भएको छ। सर्वोच्च अदालतका अरु न्यायाधीशहरुले पनि उहालाई बेवास्ता गरेका छन् ।