नेपाली काँग्रेसको प्रदेश एकको सभापतिका उम्मेदवार गुरुराज घिमिरेले प्रादेशिक संरचनालाई बलियो बनाउन आफुले पार्टीको प्रदेश सभापतिमा उम्मेदवारी दिएको बताउनु भएको छ ।
मुलुकमा गणतन्त्र ल्याउने आन्दोलनमा महत्वपुर्ण भूमिका खेल्नु भएका नेता घिमिरेले गणतन्त्रसँगै आएको संघीयतालाई बलियो बनाउन पनि प्रादेशिक संरचनालाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “मेरो अनुभव र क्षमतालाई प्रदेशको पार्टी संगठन र राज्यको प्रादेशिक संरचनालाई बलियो बनाउन उपयोग गर्ने छु ।” प्रदेश कार्यसमितिको मुख्य काम स्थानीय संरचना र केन्द्रीय संरचनाका बीचमा समन्वय गर्ने भएको बताउदै उहाँले आफु नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेकाले त्यो जिम्मेवारी पनि सहजै पुरा गर्न सक्ने दावी गर्नुभयो ।
उहाँले पार्टीलाई प्रभावकारी र चलायमान गराउन पार्टी अन्तर्गतका संरचना र भातृ संगठनहरुलाई क्रियाशिल बनाउने अठोट पनि व्यक्त गर्नुभयो ।
“प्रदेश एक कम्युनिष्टहरुको प्रभाव बढी भएको क्षेत्र भएकाले यहाँ पार्टीलाई सुझबुझका साथ अगाडि बढाउने नेतृत्वको खाँचो छ, त्यो काम मैले गर्न सक्छु, साथीहरुले काम गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास गरेको छु,” उहाँले भन्नुभयो ।
उहाँले पार्टीमा मुल्याङ्कनको परिपाठी बनाएर राम्रो गर्नेलाई न्याय र पुरस्कार दिने, गलत गर्नेलाई दण्डीत गर्ने बताउनुभयो । युवा नेता घिमिरेले पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न अभियान नै चलाउने योजना रहेको पनि जानकारी दिनुभयो । “पार्टीलाई आधारभूत तहदेखि नै बलियो बनाउन सक्छु भन्ने मेरो विश्वास छ,” उहाँले भन्नुभयो ।