काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएकोले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।
प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसैबीच, प्रधानन्यायाधीश जबराले आफू अस्पतालबाट डिस्चार्ज भएर भोलि आएपछि छलफल गर्ने जवाफ न्यायाधीशहरुलाई दिनुभएको छ । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमणपछि अस्पताल भर्ना भएसँगै सर्वोच्च अदालतमा मुद्दाको पेसी नै नतोकिने स्थिति आएको भन्दै न्यायाधीशहरु आज छलफलमा बसेका थिए ।
छलफलकै क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन गर्नुभएको थियो । कार्कीसँगको फोनमा जबराले आफू भोलि अस्पतालबाट डिस्चार्ज भएर आउने र त्यसपछि ’बसेर कुरा गरौं’ भन्ने जवाफ दिनुभएको थियो ।
त्यसै अनुसार आज कायममुकायम नतोकेर नै न्यायाधीशहरुको बैठक सकिएको हो । कोभिड–१९ संक्रमण भएपछि प्रधानन्यायाधीश राणा मंसिर १३ गते शसस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ ।