काठमाडौँ । विवाद लगायतका विभिन्न कारण १ सय ८० पालिकामा नेकपा माओवादी केन्द्रको अधिवेशन हुन बाँकी छ । गत मंसिर ११ गते माओवादी केन्द्रले पालिका अधिवेशन सुरू गरेको थियो । जसमा देशभरका ७ सय ५३ पालिकामा अधिवेशन एकैसाथ उद्घाटन भएको थियो ।
यसरी उद्घाटन भएका पालिकामध्ये ५ सय ९६ पालिकाको अधिवेशन पूरा भइसकेको केन्द्रीय निर्वाचन प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बाँकी पालिका अधिवेशन मंसिर २० गतेभित्र पूरा गर्न निर्देशन दिइएको पनि बताउनुभयो ।
श्रेष्ठका अनुसार पालिका नेतृत्व सर्वसम्मत हुन नसकेमा निर्वाचन गर्न निर्देशन दिइसकिएको छ । पालिका अधिवेशन सकिएलगत्तै मंसिर २५ गते प्रदेश सम्मेलन हुने भएको छ । त्यसपछि पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको योजना छ । माओवादीले राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ ।