काठमाडौँ । लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउँदै राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा आजाव उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा फर्काउन सदन र सडक सबै ठाउँबाट संघर्ष गर्ने घोषणा गरेको छ । आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित पार्टीको एकता महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सदन र सडकको संघर्षबाट मुलुकमा राजतन्त्र पुनःस्थपित गर्ने दाबी गर्नुभएको हो ।
राप्रपाले जुन दिन सडकमा लाखौं मानिस उतार्न सफल हुन्छ, त्यो बेला राजा ल्याउन आफूहरुले संविधानको दुईतिहाई धारा पर्खेर नबस्नेसमेत उहाँले बताउनुभयो । नागार्जुनका राजालाई नारायणहिटीमा राख्ने काम जताले गर्ने भन्दै अध्यक्ष थापाले राप्रपाको रणनीति र नारा ‘राजा आउ, देश बचाउ’ नभइ अब ‘जनता आउ, राजा ल्याउ’ भन्ने रहेको स्पष्ट पार्नुभयो ।
यस्तै, कार्यक्रममा राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि देशलाई राजसंस्थाको आवश्क्ता खड्किसकेको दाबी गर्नुभयो । उहाँले मुलुकका सबै जाति र वर्गलाई समान अवसर प्रदान गर्दै देश विकासमा लाग्ने एक मात्र संस्था राजसंस्था भएको बताउनुभयो । यसैगरी अर्का अध्यक्ष पशुपति शमशेर जबराले पनि अहिले मुलुक सही बाटो हिँड्न नसकेको भन्दै यसका लागि राप्रपा एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
राप्रपाका नेतृत्वले राजसंस्थाको पक्षमा वकालत गरिरहँदा महाधिवेशन सफलताको शुभकामना दिन कार्यक्रममा पुगेका अन्य राजनीतिक दलका नेताहरुले भने लोकतान्त्रिक व्यवस्थाको बचाउ गरेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई सम्झेर राजा–महाराजाप्रति गर्व गर्न सकिने भएपनि आज युग फेरिएको बताउनुभयो । उहाँले लोकतन्त्रको परिभाषा नयाँ स्तरबाट व्याख्या गरिएको र जनताको भूमिका नयाँ ढंगले परिभाषित रहेको हुँदा इतिहाँसमा गर्व गर्दैगर्दा वर्तमान भुल्न नहुने बताउनुभयो ।
यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पनि परिवर्तनको गतिलाई रोक्ने चेष्टा नगर्न राप्रपासँग आग्रह गर्नुभयो । उहाँले राप्रपाले राष्ट्रियताको एजेण्डालाई अगाडि बढाउनुपर्ने तर परिवर्तनलाई रोक्ने चेष्टा गर्न नहुनेमा जोड दिनिुभयो ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले खुलेरै राजाको प्रशंसा गर्नुभएको थिाये । उहाँले तत्कालीन राजा महेन्द्रलाई राष्ट्रवादी व्यक्तिको रुपमा चित्रित गर्दै महेन्द्रकै अडान र चतुर्याइँले नेपाल सिक्किम जसरी विलय हुने अवस्थाबाट रोकिएको जिकिर गर्नुभयो ।
महासचिव मैनालीले प्रचण्डले नेतृत्व गरेको २०६३ सालको परिवर्तनले अवाञ्छित वाह्य प्रभाव र हस्तक्षेप ल्याएको ठोकुवासमेत गर्नुभयो । त्यसपछि बोल्नुभएका प्रचण्डले आफूले लागेको कुरा बोल्ने तर सीपी मैनालीले जस्तो अर्को भाषा बोल्न नसक्ने भन्दै जवाफ फर्काउनुभयो ।
पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात मैनालीले नै गरेको तर अहिले महान राजा भनेर बोलेको टिप्पणी गर्दै प्रचण्डले राप्रपाको अध्यक्ष हुने तयारी गरिरहेको भान आफूलाई भएको भन्दै महासचिव मैनालीलाई व्यांग्यात्मक शैलीमा बधाईसमेत दिनुभयो ।
राजतन्त्र र लोकतन्त्रवादी दलका नेताहरुबीच तर्क–बितर्क हुनु कुनै नौलो कुरा होइन । तर, लोकतन्त्र स्थापना भएको १५ वर्ष बितिसक्दा पनि नागरिकका अपेक्षाअनुसार राजनीतिले लय समात्न नसक्दा राजतन्त्रको पक्षमा बेलाबखत ठूलै जनप्रदर्शनसमेत हुने गरेका छन् । त्यसैले व्यवस्था परिर्वतनमा पृथुलतर भूमिका खेलेका दल तथा नेताहरुले अवस्थामा पनि आमूल परिवर्तन ल्याउनका निम्ति एक भएर लाग्नु आजको टट्कारो आवश्यक्ता हो ।