काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित राप्रपम महाधिवेशनको उद्घाटसत्रलाई सम्बोधन गर्दै प्रचण्डले वैचारिक अन्तरविरोध भए पनि राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्न जाने बताएका हुन् ।
‘हाम्रा बीचमा अन्तरविरोध छ तर मैले पहिले पनि भनेको थिए । हाम्रो अनेकताभित्र एकता छ । राष्ट्रियता र देशभक्तिको सवालमा हाम्रो गोत्र मिल्न जान्छ’, उनले भने ।
मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराइ स्वाधीनताको रक्षा गर्न सबै दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने उनले बताए । ‘राष्ट्र सबैभन्दा माथि छ । दलहरूबीचको संवादलाई अझ घनीभूत बनाएर राष्ट्रलाई वैदेशिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्छ । त्यसका लागि सहकार्य जरुरी छ’, प्रचण्डले भने ।
उनले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै एमालेमाथि कटाक्ष गरे । प्रचण्डले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए ।
‘पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुरा चाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ? तपाईँहरुले ठीक गर्नुभयो । ’