काठमाडौँ – एमाले महाधिवेशन चितवनमा जारी छ । देशभरबाट हजारौँ मानिस उतारेर सुरु भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने क्रममा छ । तर जुन विधि र प्रक्रियाबाट एमालेले नयाँ नेतृत्व चयन गरिरहेको छ, त्यसबाट लोकतन्त्रको नै हत्या भएको आरोप नेपालका प्रमुख राजनीतिक दलहरूले लगाइरहेका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा महाधिवेशन सकेर आउने एमालेले अब प्रजातन्त्रको हत्या गर्ने टिप्पणी गर्नुभयो । तर नेपाली कांग्रेसले एमालेलाई ठेगान लगाउने उहाँको चेतावनी छ । एमालेमा जनवाद सकिएको र अब केपीको डनवाद मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।
सत्तारुढ अर्काे दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त एमाले महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिनुभयो । देशभरबाट पाँच लाख मानिस उतारिएको दाबी एमालेले गरिरहेका बेला प्रचण्डले तथाकथित महाधिवेशनमा विचारलाई निषेध गरिएको टिप्पणी गर्नुभयो ।
हालसालै एमालेबाट टुक्रिएर अस्तित्वमा आएको नेकपा एकीकृत समाजवादीले पनि एमालेमा अब विचार बाँकी नरहेको टिप्पणी गरेको छ । त्यस पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको प्रशंसा गरेकोमा पनि आपत्ति जनाउनुभयो । महाधिवेशन उद्घाटन समारोहमा थापाले केपी ओली र एमालेको प्रशंसा गर्दै देशले सधैँ सम्झिरहने बताउनुभएको थियो ।
सीके राउतको पृथकतावादी आन्दोलनसँगै विप्लव माओवादीको हिंसात्मक आन्दोलनलाई पनि राजनीतिको मूलधारमा ल्याएर शान्तिपूर्ण अवतरण गराएको र लिम्पियाधुरासमेत समेटेर नेपालको नक्सा संविधानमा उल्लेख गराउने कामको नेतृत्व ओलीले लिएको भन्दै थापाले गरेको प्रशंसाप्रति अध्यक्ष नेपालले आपत्ति जनाउनुभएको हो ।
उहाँले नराम्राहरूले नराम्राहरूकै प्रशंसा गर्ने बताउनुभयो । तर एमालेले अब कम्युनिष्ट आन्दोलनमा योगदान गर्न नसक्ने उहाँले बताउनुभयो । कम्युनिष्ट आन्दोलन जोगाउनकै लागि आफूहरूले एमालेबाट विद्रोह गरेको उहाँको भनाइ छ ।
तर एमाले नेताहरूले भने दशौँ महाधिवेशनपछि एमालेको तागत बढेको र आउने निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । नयाँ नेतृत्वका लागि १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची गए राति ओलीले घोषणा गर्नुभएको थियो । तर अध्यक्ष, उपाध्यक्ष र सचिवसहितका पदमा ओलीको घोषणा सूचीमा परेकाहरूबाहेकले पनि उम्मेदवारी दिएपछि अहिले निर्वाचन भइरहेको छ ।