काठमाडौँ । नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ । आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको हो ।
यसअघि बनाइएको कार्यतालिकामा मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो । तीन नेताबीच आज भएको सहमति अनुसार अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गरिने भएको हो ।
कांग्रेसमा हालसम्म ५२ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । बाँकी रहेका २५ जिल्लाको अधिवेशन सक्न थप समय लाग्ने भएकोले प्रदेश अधिवेशन २ दिन सारिएको हो ।
बाँके, चितवन, नवलपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवाससिहत प्रदेश २ का ८ जिल्लामा अधिवेशन हुन बाँकी छ । प्रदेश २ का अधिकांश जिल्लामा प्रदेश महाधिवेशन प्रतिनिधि चयन नभइसकेको हुँदा २ दिन ढिलो गरेरपनि सबैलाई समेट्न खोजिएको एक नेताले बताउनुभयो ।
कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ ।