काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आउनुभएका रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।
रावल यसअघि पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गर्नुभएको छ । उहाँले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।
‘पार्टीमा अहिले कुनै समूह छैन’, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले पनि आफ्नो अधिकार प्रयोग गरें ।’ रावलले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ । यसै अन्य पदाधिकारीले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।