चितवन । नेकपा एमालेका केही नेताहरुले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप्नुपर्ने माग राखेका छन् । विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउनुपर्ने लबिइङमा एमाले नेताहरु विशाल भट्टराई, पार्वत गुरुङ, हिक्मत कार्की, लीलबहादुर थापा, नारदमुनि राना, शान्ता चौधरी, रचना खड्कालगायत सक्रिय छन् ।
पदाधिकारीको संख्या आवश्यकताका आधारमा केही थप्ने र केन्द्रीय कमिटीको संख्या ३ सयको हाराहारीमा पुर्याउनुपर्ने र त्यसो गर्दा झण्डै एक सय ६ जना नयाँ अनुहारहरु केन्द्रीय कमिटीमा पर्ने एमालेका प्रमुख सचेतकसमेत रहेका नेता भट्टराईको भनाइ छ । नयाँ पुस्तालाई स्थान दिन र सबैको मनोविज्ञानलाई समेट्न विधान संशोधन गर्नैपर्ने मतसहित भट्टराईसहितका नेताहरुले शीर्ष नेताहरुलाई भेट्दै आएका छन् ।