काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. डिला संग्रौला ‘पन्त’ को ‘कांग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ ।
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको बुधबार कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताए । ‘पार्टीको १४औँ महाधिवेशनमा यो पुस्तक कांग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ,’ उनले भने ।
सभापति देउवाले डा।संग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गरे ।
पुस्तकका लेखिका डा।संग्रौलाले १४औँ महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताइन् । ‘पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु,’ उनले भनिन् ।