काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजले रुकुमको सल्ले लानुपर्ने यात्रु नेपालगञ्ज लगेर ओरालेकोमा प्रष्टीकरण दिएको छ । प्राविधिक अड्चनका कारण यस्तो घटना भएको भन्दै अब दोहोरिन नदिने प्रतिबद्धता निगमको छ । निगमले सो घटना बारे बाहिर उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपालगञ्जत अवतरण गराउनु पर्नाको कारण रहर नभएर बाध्यता भएको बताएको छ ।
मंसिर ५ गते काठमाडौंबाट रुकुमको सल्लेका लागि उडानका गर्ने क्रममा गन्तव्यमा नपुगी ड्यूटी सकिएको भन्दै पेम्वा शेर्पाले नेपालगञ्जमा नै जहाज अवतरण गर्नुभएको थियो । मन्त्रालयको र निगमको चर्को विरोधपछि निगमले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएको हो ।
गन्तव्यमा जहाज नपुगेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले पाइलट शेर्पालाई स्पष्टीकरण सोध्न निगमलाई निर्देशन दिनुभएको थियो । मन्त्रालयले हिजो स्पष्टीकरण सोध्दा केही नबोलेको निगमले आज विज्ञप्ति निकालेर चालक शेर्पाको बचाउ गरेको छ ।
निमगले आज विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटलाई काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।
‘हवाइ उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन– नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो’, विज्ञप्तिमा उल्लेख छ ।
रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौंमै राखिरहनु भन्दा नेपालगञ्जसम्म पु¥याएर रुकुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पु¥याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय भएको निगमले भनेको छ ।
