काठमाडौँ । नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ुमार्चपासु गरिने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ ।
बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिनुभयो । ुनागरिक समाजका सदस्यसहित ९ गते २ बजे बालुवाटारसम्म मार्च पास गरिनेछ । सबैलाई न्याय चाहिएकोले जनता उठ्नु पर्ने भएको श्रेष्ठको भनाइ छ ।
बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च अदालतमा कार्यक्रम हुने उहाले जानकारी दिनुभयो ।
बारले अदालतमा जारी विवादबारे शान्ति र लोकतन्त्रका लागि पेसागत संगठन सञ्जाल९पापड०सँग छलफल गरेको थियो । बालुवाटारमा नै धेरै कुरा तय हुने र प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्च गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।
बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि दलहरूलाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।
कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन थालेको थियो । कार्यपालिकासँग नियुक्तिमा भाग मागेको, सहमति कार्यान्वयन नगरेको, बिचौलियालाई प्रश्रय दिएको लगायतको आरोप लगाउँदै बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ ।