काठमाडौं – प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्ने गरी सर्वोच्च अदालत नियमावलीमा गरिएको संशोधनले वैधता पाएको छ । मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।
उक्त संशोधित नियमावली आज राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौतीले वैधानिकता पाएको हो । अब सबै मुद्दाको पेसी गोला प्रथाबाट तोकिने भएको छ ।
यसैबीच नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन आह्वान गर्नुभएको हो ।
यता सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
आज नेपाल बारले जबराविरुद्ध महाभियोग दर्ता गर्न मागसहित बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिका भित्र देखिएका समस्याको सहज र स्वभाविक निकास निकाल्न सम्बद्ध पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले कानुन व्यवसायीले गरेको आन्दोलनलाई आफूले नजिकबाट नियालेको बताउनुभयो ।
बारले जबराविरुद्ध महाभियोग दर्ता गर्न दबाब दिँदै सभामुख सापकोटासहित राजनीतिक दललाई आज ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बार एसोसिएसनको आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएकोमा आफूलाई दुख लागेको बताउनुभयो । संसदमा भएका घटनामा पनि आफूहरूले न्याय पाउन नसकेको भन्दै उहाँले बारले उठाएका विषय गम्भीर भएको बताउनुभयो ।
यसैबीच प्रधानन्यायाधीश जबराको पक्षमा सडक प्रदर्शन गर्दै आएको द हण्ड्रेड गु्रपले नेपाल बार एसोेसिएसनका तीन पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको छ ।
हण्ड्रेड गु्रपका तर्फबाट अध्यक्ष बब्लु गुप्ताले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर गर्नुभएको हो ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरेको आन्दोलनका क्रममा बार अध्यक्ष श्रेष्ठले जबरालाई बिचौलियाको नाइकेलगायतका आरोप लगाउनुभएको थियो । बार पदाधिकारीहरूले जबराको पक्षमा आन्दोलन गर्नेहरूलाई भिजलान्ते र भाडाका टट्टुको संज्ञा पनि दिएका थिए ।