काठमाडौँ – चितवनमा महाधिवेशन राखेको सन्दर्भमा नेकपा एमाले र माओवादी केन्द्र आमने सामने भएका छन् । दुवै पार्टीका अध्यक्षले एकअर्काविरुद्ध छुद्रता प्रदर्शन हुने टिप्पणीहरू गर्न थालेपछि राजनीतिक अराजकता बढ्ने खतरा पैदा भएको छ ।
सुरुमा बुटवलमा गर्ने भनिएको महाधिवेशन एमालेले पछि चितवनमा गर्ने तय गरेको थियो । चितवनमा महाधिवेशन गरेर आफूमाथि राजनीतिक आक्रमण गर्न खोजिएको भन्दै प्रचण्डले आक्रोश व्यक्त गर्नुभएको छ ।
यसअघिसम्म एमालेले चितवनमा महाविधेशन गरेर आफूलाई फाइदा पु¥याएको टिप्पणी गर्ने प्रचण्डले आज भने आफू र आफ्नो पार्टीलाई सिध्याउन खोजिएको तर त्यो सम्भव नहुने बताउनुभएको हो ।
रौतहटको कटहरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी र आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागे पनि जनताका तागतअघि केही नलाग्ने बताउनुभयो । प्रचण्डले सबै दलाल, गद्दार, भगौडा र कायरहरूलाई हुंकार दिएर आक्रामक ढंगले प्रस्तुत हुन जनसमुदायलाई निर्देशन दिनुभयो ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने चितवनमा महाधिवेशन गर्ने भन्नेबित्तिकै कतिपयको सातो गएको टिप्पणी गर्नुभयो । तर एमालेले अरु पार्टीका लागि नभई आफ्नै लागि महाधिवेशन गर्न लागेको उहाँले बताउनुभयो ।
देशको केन्द्र र पर्यटकीय क्षेत्र रहेकोले एमालेले महाधिवेशनका लागि चितवन रोजेको उहाँले प्रष्ट पार्नुभयो । चुनावमा कसैलाई हराउनका लागि त्यस ठाउँमा एमालेले महाविधेशन नै आयोजना गर्नुपर्ने कुरा कल्पना गर्न नहुने ओलीले बताउनुभयो ।
आफ्ना प्रतिस्पर्धी प्रचण्डको राजनीति कठिन पार्न ओलीले चितवनमा महाविधेशन आयोजना गरेको विश्लेषण राजनीतिक वृत्तमा भइरहन्छ । प्रचण्डले आज आफूलाई सिध्याउन एमालेले रणनीतिक चालबाजी गरेको बताएपछि यो विषय थप चर्चामा छाएको छ ।
तर राजनीतिक विश्लेषक डा.सुुरेन्द्र केसीले भने प्रचण्डको आजको अभिव्यक्ति खेदजनक रहेको टिप्पणी गर्नुभयो । कार्यकर्तालाई उत्तेजित पार्ने भाषणहरूले राजनीतिक अराजकता बढाउने उहाँको टिप्पणी छ ।
यद्यपि चितवनको महाधिवेशनलाई ओली र प्रचण्डको लडाईको नयाँ खुड्किलोका रूपमा बुझ्न सकिने कुरालाई भने नकार्न नमिल्ने केसीले बताउनुभयो । सभा सम्मेलनहरु आयोजना गर्न पाउने छुट भए पनि दुई नेताबीच चितवन महाधिवेशनलाई लिएर भइरहेको आरोप प्रत्यारोपहरुले सही सन्देश नदिएको उहाँले दोहो¥याउनुभयो ।
चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला र चुनावी क्षेत्र पनि हो । गृह जिल्लाबाटै प्रचण्डलाई चुनाव हराउन सके राजनीतिक प्रतिस्पर्धामा आफू माथि पुग्ने आशयका साथ एमाले अध्यक्ष ओलीले चितवनलाई प्राथमिकता दिएको टिप्पणीहरु भइरहेका छन् ।