काठमाडौँ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन भोलि (शुक्रबार) ३ बजे सम्मको अल्टिमेटम दिएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई राजीनामा राजीनामा नदिए थप सशक्त कदम चाल्ने चेतावनी दिएका छन् ।
आज (बिहीबार) कानुन व्यवसायीको धर्नामा भएको प्रहरी हस्तक्षेपको निन्दा गर्दै बार अध्यक्ष श्रेष्ठले अहिले जारी आन्दोलन कुनै पनि वहानामा नरोकिने समेत बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै अदालत प्रवेशमा अवरोध गर्न र प्रहरी लगाएर दमन गर्ने कार्यको विरोध गर्दै शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए ।
सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीहरु बिहीबार सर्वोच्चको वैकल्पिक गेटतर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष श्रेष्ठसहित नेपाल बार र सर्वोच्च बारका केही पदाधिकारीसहित आधा दर्जन कानुन व्यवसायी घाइते भएका थिए ।
प्रहरीको दमनपछि बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै बारले आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु ३ सातादेखि आन्दोलनमा छन् ।