Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसमा नयाँपन ल्याउन नेतृत्व पनि नयाँ ल्याऔँ

काँग्रेसमा नयाँपन ल्याउन नेतृत्व पनि नयाँ ल्याऔँ

  • आइतवार, कार्तिक २८ २०७८

  • 1.2K
    SHARES

  • काँग्रेसमा नयाँपन ल्याउन नेतृत्व पनि नयाँ ल्याऔँ

    अनुजा काफ्ले
    समाजवाद सामाजिक क्रान्ति हो । जसले आर्थिक, सामाजिक र राजनीतिक समानतालाई प्रमुख रुपले आफ्नो लक्ष्य बनाएको हुन्छ। यो समाजवादी सिद्धान्तले मात्र जनतालाई बढी स्वतन्त्रता , समानता र समृद्धि दिन सक्छ भनेर विपीले रचेको काङ्ग्रेसको मार्गदर्शनको इतिहासलाई पल्टाएर हेर्दा आज म लज्जित भएर यी महान् आदर्श रोपण गरेका बीजहरु देशमा कुन कुनाकाप्चामा लुकाइएका छन् , यो चौधौं अधिवेशनको श्रृङखलामा चहकिलो टर्च बालेर नियालिरहेछु।

    हिजो विपीले जनतासम्म पुग्ने वैचारिक राजमार्ग खन्नु भएको थियोे भने पार्टीको जरा समाजमा गहिरो सम्म गाड्ने कामको शुरुवात गरिसक्नु भएको थियोे । क्रमशः सुवर्ण शमशेर , गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले पार्टीमा उस्तै उत्तम विचार प्रतिपादन गरी सशक्त ढंगले अघि बढ्नु भयो । यस्तो सबैभन्दा जेष्ठ र महान् इतिहास बोकेको नेपाली काङ्ग्रेस पार्टी वर्तमान अवस्थामा आएर आज कतातिर मोडिदैछ, हामी जो कोही काङ्ग्रेसीले चिन्तन गर्न सक्तछौ। हुन त विपीको हाराहारीको नेता न त काङ्ग्रेस , न त अन्य कुनै पार्टीमा नै जन्मन सके।आज जनता राजनीतिक दलका नेतृत्वको कर्म देखेर वाक्क, दिक्क र प्याक्क भैसकेका छन्। फलस्वरूप जनताको हेराई राजनीतिक दलमाथि दिनानुदिन दोषी रहन गइरहेको छ।

    अब यसको समाधान गर्ने जिम्मा नेपाली काङ्ग्रेसको यही चौधौ अधिवेशनको नेतृत्वले लिनु छ। विपी कुनै व्यक्तिका लागि हैन, समाज र देशका लागि सदा जिम्मेवार हुनुहुन्थ्यो । उहाँ नसोचि बोल्नु हुन्नथ्यो र बोलेका कुरा पूरा गरेर मात्र छोड्नु हुन्थ्यो । कुनै नयाँ कुरा सार्वजनिक गर्नुपर्दा त्यसले देश र जनतालाई कस्तो प्रभाव पार्दछ, मध्यनजर गरेरमात्र अघि बढ्नु हुन्थ्यो । आफ्नो विचार राख्दा सैद्धान्तिक आलोचना बाहेक कसैलाई ओठे जवाफ र ठाडो गाली प्रहार गर्नु भएन ।

    तर आजका नेता मुखमा जे आउछ मज्जाले फत्फताइदिने, भ्याएसम्म मुख छोड्ने र विपक्षीको कटु आलोचना गर्दै ओठे जवाफ र ठाडो गालीले भाषण ठोकिदिने पार्टीका सर्वोच्च पदाधिकारीको औकात र केही भेडा जस्ता जनताको समर्थनको ताली बज्दा मनभित्र कुतीकुती लाग्छ। विपी भन्नुहुन्थ्यो आफ्नै पार्टीका गलत क्रियाकलापहरु विरुद्ध बोल्नेहरु नै पार्टीका इमान्दार सिपाही हुन्। तसर्थ हामी विपक्षीको आलोचनामा व्यग्र हुनुभन्दा पनि आफ्नै पार्टी भित्रको कमी कमजोरीहरुलाई औल्याएर त्यसको समाधान तर्फ उन्मुख हुनु उचित हुन्छ । आफू भलो त जगत भलो भनेझैं वर्तमान अवस्थामा देशमा खडा भएको एक एक मूल समस्याको पहिचान गरी समाधान गरेर सबै जनताको उज्यालो भविष्य कोर्नमा लागि पर्नु पर्नेछ ।

    विपीका काङ्ग्रेसीहरु लोकतान्त्रिक समाजवादको आदर्श प्रति अत्यन्तै इमान्दार हुन्छन् ताकि न ऊ कुनै गुट, उपगुट वा व्यक्ति विशेष प्रति नै विश्वास गर्दछ। ऊ सदैव देश र जनताको स्वार्थमा मात्र तल्लिन हुन्छ । तसर्थ आज पनि नेपाली काङ्ग्रेसका जिम्मेवार व्यक्तिहरु खुल्ला हृदयको हुनैपर्छ । आफ्नो संगठनभित्र भएका मतभेदहरु आपसी छलफल र लोकतान्त्रिक विधिद्वारा संगठनभित्रै विना मनमुटाव सहजै हल गर्नै पर्छ। पार्टीको विधि र विधान अनुशरण गरि कुनै पनि स्तरको नेता वा साथीलाई अन्याय नगर्ने वा हुन दिनु हुदैन । अनि मात्र विपी क्रमशः का वीर योद्धाहरुको तस्बिर मुनिबाट राखिएको तपाईंको तस्बिरले सार्थकता पाउनेछ ।

    देश र जनताको हितका लागि अत्यन्तै त्यागी , निडर र निष्पक्ष हुन्छन् भन्ने काङ्ग्रेसीहरु आज आर्यघाट पुग्न लाग्दासम्म पद नछाड्ने नेताहरूको कार्यशैलीले जनतामा ठूलो निराशा छाएको छ। तसर्थ अरु क्षेत्रमा जस्तै राजनीति पनि निश्चित समयपछि अवकाशको प्रचलन हुनु पर्ने देखिन्छ र वर्तमान नेतृत्वले मात्र पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धतिलाई जोगाइ राख्न नसक्ने हुनाले नेतृत्व परिवर्तन गर्नु अनिवार्य छ। यस अधिवेशनबाट निर्वाचित नेतृत्वले लगत्तै स्थानीय चुनावमा विपक्षीहरुसँग लड्नुछ। त्यसैले अधिवेशनमा घरभित्रै तिक्तता बढाउनु आफ्नो लागि आफै खाडल खन्नु सरह हो । त्यसपछि फेरि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा होमिनुछ।

    यो अधिवेशनले चुनेको नेतृत्वलाई हेरेर जनताले भोट दिनेकी नदिने निर्णय गर्नेछन् । नेतृत्व चुन्ने जिम्मेवारी अहिले क्षेत्रीय प्रतिनिधि र वडा सभापतिको काधमा रहेको छ। अब पार्टीलाई उन्नति वा अवनति तर्फ ढकेल्ने यसैमा निर्भर रहन्छ । त्यसैले अत्यन्तै सोच विचारका साथ नेतृत्व चुन्ने तयारीमा अघि बढ्नुछ। अहिलेको अवस्थाबाट पार्टीले देश र जनतालाई ढुक्क बनाउन नसकिने हुनाले पार्टीभित्र धेरै सुधारको खाचो छ। अब संगठन मजबुत बनाउन वरिष्ठको अभिभावकत्व र युवा वर्गलाई बढी जिम्मेवारी प्रदान गरि अघि बढ्ने अठोट आम काङ्ग्रेसीहरुले यो चौधौं अधिवेशनबाट शुरुवात गर्नुछ। नेपाली काङ्ग्रेसमा युवाहरूको आकर्षण धेरै बढेको पाइन्छ ।

    धेरै युवाहरु पार्टीको विधि विधान बुझेर, नशामा नेपाली काङ्ग्रेसको तातो रगत बोकेर हिडिरहनु भएको छ भने कति विधि विधान नै थाहै नभई हौसिरहनु भएको छ। त्यसैले अन्ततः सम्म पार्टीमा योगदान पुर्याउन उहाँहरुलाई विधि विधान बुझाउनु जरुरी छ र कैयौं वर्षदेखि अनवरत रुपमा पार्टीमा योगदान पुर्याएर पनि अघि बढ्न बाधा भएका पार्टीका अभिभावकहरुलाई पनि वेवास्ता नगरी यस अधिवेशनबाट समेट्दै सबै मिलेर उपयुक्त व्यक्ति उपयुक्त स्थानमा चयन गर्नुछ। साच्चै नै सर्वसाधारण जनताको मन जित्न सक्ने स्वच्छ छवि भएका र पार्टीलाई नैतिक रुपमा, सांगठनिक रुपमा र समुन्नति दृष्टिकोण सहित दृढ रुपमा उभिने नेतृत्वको खाचो छ आज नेपाली काङ्ग्रेसमा।

    व्यक्ति विशेष प्रति झांगिएका यी गुटबन्दी फेशनलाई अब यो अधिवेशनमा चेसको चालबाजले होइन फुटबलको मैत्रीपूर्ण खेलले जोगाउनु छ । एउटाले अर्कोलाई काट्नै खोज्ने, झुक्याएर खाने, चेक दिने, चारैतिरबाट घेरा हालेर विपक्षीलाई सिध्याउने, आफू पनि सिधिने र एक गुटलाई पूर्ण अन्त्य गर्ने जस्ता नियतहरुले समग्र राजनीतिलाई फोहोरी बनाएको छ। जनताको राजनीति प्रतिको विश्वास र भरोसा तोडेको छ। तसर्थ अधिवेशनमा फलानो मेरो नजिकको मान्छे, मैले जे भनो त्यही मान्छ भनेर नेतृत्व चुन्नु भन्दापनि फलानो नेतृत्वमा आयो भने चाहिँ जनताको आकर्षण बढ्छ र काङ्ग्रेसलाई विकृति मुक्त बनाउन सकिन्छ भनेर नेतृत्व चुन्यौ भने भावी दिनमा हामी कसैको शासित हैन स्वयं शासक हुन सक्तछौ। आजकल काङ्ग्रेसजनमा विचार र बुद्धि हुनु नै अभिषाप हुदैछ ।

    इमान्दार र निष्ठावान् कार्यकर्ताहरु वेबकुफ हुदैछन्। तसर्थ वर्तमान परिपाटीमा देखिएको यस्तो परिवेशले विपी वादको दिनानुदिन हत्या गर्दैछ। विपीका आदर्श बोकेका हामी काङ्ग्रेसीहरु भन्दै भाषण गर्ने नेताहरु आज विपीले देखाएको मार्गदर्शनलाई लत्याउदै छन्। परम्परादेखि बसालेका अनुकरणीय परिपाटी र संस्कारलाई पनि वर्तमान नेतृत्वले खुलेयाम तोडिरहेको छ। अहिले पनि विपीका सिद्धान्त उत्तिकै सान्दर्भिक छ भन्ने नेताहरू उनका सपना साकार पार्न भन्दा पनि मुखमा राम राम बगालीमा छुरा प्रहार गर्दैछन् । यस्तै कारणहरुले गर्दा पछिल्लो जनआन्दोलन यता काङ्ग्रेस खुम्चिनु परेको छ। अब पनि व्यक्ति र पदकै पछि मात्र लाग्ने हो र विपीको मार्गदर्शन परित्याग गर्ने हो भने आम कार्यकर्ताले आफ्नो नाडी छामे हुन्छ , आफ्नो लाशको मलामी आफै जादैछन्।

    अन्त्यमा नेपाली काङ्ग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो। जसले ३ चुनावमा बहुमत ल्याएको छ । यसैगरी २ चुनावमा यो पहिलो दल बन्न सफल भएको इतिहास छ। प्रतिनिधि सभा निर्वाचन , २०७४ मा काङ्ग्रेस प्रतिनिधि सभामा बाम गठबन्धनको राप र तापले दोस्रो सबैभन्दा ठुलो दल बनेको थियो । जहाँ यसले कुल २७५ सीट मध्ये ६३ मा विजय हासिल गरेको थियो । जहाँ यो आफ्नो इतिहास मै कमजोर अवस्थामा हुदाहुदै पनि कम्युनिस्ट पार्टीमा दरार पैदा हुदा अरु दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरिरहेको छ।

    अब यो अधिवेशन पश्चात् नेपाली काङ्ग्रेसले विकासका एजेन्डाहरु बोकेर आफ्नो बाझिएको खेतलाई उर्वर भुमि बनाउन टोल, समाजदेखि शुरुवात गर्नुछ। विगतको इतिहासलाई हेर्दा अस्वभाविक देखिएको यो गठबन्धन तोड्न एक्लै चुनाव लडेर बहुमत ल्याउन जरुरी छ। अझै पनि जेष्ठ र महान् ईतिहास बोकेको पार्टी नेपाली काङ्ग्रेस भएकोले जनताको आशा र भरोसा काङ्ग्रेस पार्टी माथि नै रहेको छ। यो अधिवेशनमा घरभित्रको मनमुटावलाई सहजै मिलाएर अघि बढ्यो भने पुनः नेपाली काङ्ग्रेस पहिलो दल बन्न असमर्थ रहन्न ।


    आइतवार, कार्तिक २८ २०७८११:५९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij