काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई आजबाट देशव्यापी बनाउँदै छ । जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै लगेको हो । आजदेखि जिल्ला तथा इकाइहरू पनि आन्दोलनमा उत्रिने बारले जनाएको छ ।
जसअनुसार सबै इकाइका कानुन व्यवसायीले कालोपट्टी बाँधेर काम गर्ने छन् भने, काभ्रे र उपत्यकाका तीनै जिल्लाका कानुन व्यवसायीहरू सर्वोच्च अदालतमा जारी धर्ना कार्यक्रममा सहभागी हुने छन् ।
बारका महासचिव लीलामणि पौडेलका अनुसार सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतहरूलाई १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ ।
आज प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउन सर्वोच्चका दुवै ढोकामा धर्ना दिने पनि उहाँले बताउनुभयो । कानुन व्यवसायीहरूले हिजो नै प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मूल गेटमा धर्ना दिएका थिए । तर, जबरा अर्को गेटबाट कार्यालय प्रवेश गर्नुभएको थियो । आज भने दुवै गेटमा धर्ना दिने कानून व्यवसायीहरुको तयारी छ ।
बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको, बिचौलियासँग साँठगाँठ गरेकालगायतका गम्भीर आरोप प्रधानन्यायाधीश जबरामाथि लागेका छन् ।
प्रधानन्यायाधीशबाहेकका सर्वाेच्चका बाँकी १९ न्यायाधीशहरू पनि जबराविरुद्ध संघर्षरत छन् । उनीहरूले पनि शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत सुनुवाइ नगरी प्रधानन्यायाधीश जबरालाई पद छाड्न दबाब दिएका थिए ।