काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपमा बस्ने बैठकमा आसन्न महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको छ । ती एजेन्डा आज केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ ।
साथै आजको बैठकले निर्वाचन समितिको कार्यतालिका समेत पारित गर्ने छ । महाधिवेशन सम्पन्न गर्नका लागि विधानमा भएका केही व्यवस्थालाई निलम्बन गरिएको र त्यसको निर्णय गराउने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत गरिने प्रवक्ता शर्माले बताएका छन् । उनका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ ।
यसैगरी विदेशस्थित जनसम्पर्क समितिले पठाएका क्रियाशील सदस्यको नाम अनुमोदन केन्द्रीय समितिले गर्ने भएको छ । प्राप्त हुन नसकेका देशका जनसम्पर्क समितिलाई निश्चित अवधि उपलब्ध गराउने जनाएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे पनि छलफल हुने छ ।
गठबन्धनले बनाएको राजनीतिक समिति, न्यायालयलगायतबारे पनि छलफल हुन सक्ने प्रवक्ता शर्माले बताए । पदाधिकारी बैठकमा न्यायालयका विषयमा पनि कुरा उठेको बताउँदै प्रवक्ता शर्माले केन्द्रीय समिति बैठकमा यस विषयमा थप छलफल हुन सक्ने बताएका छन् ।