काठमाडौँ । सत्तारुढ कांग्रेसले न्यायालयमा देखिएको विवादको विषयमा तत्कालै धारणा नबनाउने भएको छ । शनिबार (आज) बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको बताउनुभयो ।
महतका अनुसार बैठकमा त्यसबारे छलफल भएको र नेताहरुले विभिन्न विचार राखेका थिए । तर, त्यसबारे कुनै निर्णय नभएको उहाले बताउनुभएको छ । उहाले आइतबार(भोली) बस्ने केन्द्रीय समिति बैठकमा यो विषय थप उठ्न सक्ने भए पनि अहिलेलाई कांग्रेसको यही नै प्रस्ट दृष्टिकोण भएको दाबी गर्नुभयो ।
‘न्यायालयको विवादमा सबैको ध्यानाकर्षण भएकै छ । त्यसबारे अहिले हामीले बोल्ने कुरा छैन । हामीभित्र छलफल भइरहेको छ । भोलि पनि हुनसक्छ । तर अहिलेको प्रस्ट कुरा भनेको न्यायालयभित्रैबाट निकास आउनुपर्छ भन्ने नै हो,’ महतले भन्नुभयो । शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरु चुप लागेर बस्नु नहुने बताएका थिए ।
पौडेल समूहको शुक्रबारै न्यायालयमा देखिएको समस्याका विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि संस्थापनइतर पक्षका १२ जना केन्द्रीय सदस्यहरुले विज्ञप्ति नै जारी गरेर न्यायालय विवादमा दलहरु चुप लागेर बस्न नहुने भनेका थिए । पौडेल समूहको भेलाको निष्कर्ष बमोजिम नै नेताहरुले शनिबारको बैठकमा न्यायालयको विवादका विषयमा प्रस्ट धारणा बनाएर निकास दिनुपर्ने प्रस्ताव गरेका थिए ।
जवाफमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवाद त्यहीं भित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको थियो । देउवाले न्यायालयको विवादमा अहिले बोल्न नमिल्ने बताउनुभएको थियो ।