काठमाडौँ । किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा आज अपरान्ह महागायक राजेशपायल राईले प्रस्तुति दिने भएका छन् । सम्मेलनको उद्घाटन कार्यक्रम राजधानी काठमाडौमा आज कार्तिक २७ गते (नोभेम्बर १३) राष्ट्रिय सभागृहमा दिनको १ बजे हुँदै छ ।
किरात राई जातिले एकता, लिपि, संस्कार, संस्कृतिमा एकरुपता र विश्वभर रहेका राई जातिको अवस्था जानकारी लिनेदिने उदेश्यले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएका छन् । पछिल्लो सयममा प्रदेश १ को नाम किरात रहनुपर्ने विश्वभर रहेका राई समुदायको माग रहेको छ । यस बारेमा पनि सम्मेलनमा घनिभुत् छलफल हुने छ ।
यस ऐतिहासिक कार्यक्रममा महागायक राजेशपायल राई लगायत अन्य वरिष्ठ कलाकारहरुको प्रस्तुति हुने भएको छ । राजेशपायल राई नेपाली साङ्गीतिक आकाशका विश्व चर्चित गायक हुन् । लोक, आधुनिक, पप, रक सबै विधा गाउन सक्ने गला राजेशपायल राई बाहेक अरु कसैमा छैन । राईले हालसम्म नेपाली गायकहरु मध्ये सबैभन्दा बढी विभिन्न भाषा र विधाका दशौं हजार गीत गाएका छन् ।
हिन्दी, जापनिज, अंग्रेजी, मैथिली, भोजपुरी, आसामीलगायत राई समुदायको बिभिन्न भाषामा गीत गाएका राजेशपायल राई धेरै भाषामा गीत गाउने नेपाली गायकहरु मध्ये पहिलो नंवरमा पर्छन् । एकैदिनमा ८ वटा भन्दा बढी गीत रेकर्ड गर्नसक्ने, लगातार घण्टौं लाइभ प्रस्तुति दिन सक्ने गायक पनि उनै राजेशपायल हुन् । खस नेपाली भाषाका सबैभन्दा बढी गीत गाउने, धेरै भाषामा गीत रेकर्ड गराउने, अहिलेसम्मका नेपाली गायक मध्ये सबैभन्दा लामो समय आलाप तान्ने, लोक, आधुनिक, रक, पप सबै विद्यामा गीत गाउन सक्ने गला भएको राजेशपायल राई वास्तवमैं महागायक हुन् । आज उनै महागायकले राष्ट्रिय सभागृहमा आफ्नो बेजोड प्रस्तुति दिँदै छन् ।
कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार जितेन राई, पार्वती राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरी बादक नगेन्द्र राईको साथै किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राई लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।
उद्घाटन सभा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र बिशिष्ट अतिथिको रुपमा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई लगायतका बक्ताहरु रहनेछन् । सम्मेलनमा सहभागिहुन १२ भन्दा बढी देशबाट प्रतिनीधिहरु काठमाडौ आइसकेको आयोजक समितिका संयोजक दिवस राईले बताए । कार्यक्रममा राई जातिको मौलिक कला, संस्कृतिको पनि प्रदर्शन हुनेछ भने इन्डिजियस टेलिभिजन, हिमाल एफ.एम, किरात राई यायोक्खाको आधिकारिक युटुब र फेसबुक पेज लगायतका सञ्चार माध्यमहरुबाट प्रत्यक्ष प्रशारण हुने छ ।