काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुसँग तीन तहको चुनावसम्म मात्रै आफू सभापति बन्ने प्रस्ताव अघि सार्नुभएको छ । तीन तहको निर्वाचनसम्म सभापति भएर पार्टीलाई विजयी गराएलगत्तै नेतृत्व हस्तान्तरण गर्ने नयाँ प्रस्ताव पौडेलले अघि सार्नुभएको हो ।
कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने तय भएको छ, तर पौडेल समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन । यो समूहमा पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला दाबेदार छन् ।
चार आकांक्षीबीच सहमति जुट्ने सम्भावना टर्दै गएपछि वरिष्ठ नेता पौडेलले आज आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएर नयाँ प्रस्ताव अघि सार्नुभएको बैठकमा सहभागि कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिनुभयो ।
यसैबीच महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतर समूहबाट एकमात्रै उम्मेदवार नभए नेतृत्व परिवर्तन सम्भव नहुने बताउनुभयो । आफूहरुको समूहबाट सभापतिमा दाबी गर्ने चार जनामध्ये एक जना मात्रै सभापतिको उम्मेदवार बन्नुपर्ने उहाँले बताउनुभयो । साझा उम्मेदवार बनाउन नसक्ने भए सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने कोइरालाको टिप्पणी छ ।
महामन्त्री कोइरालाले पौडेल समूहमा अहिलेसम्म कुनै पनि विभाजन नरहेको दाबी गर्नुभयो । ‘टिममा अहिलेसम्म विभाजन छैन । सभापति पदका लागि चारै जना उम्मेदवार छौँ । त्यहीकारणले विभाजित मनस्थितिमा देखिएको हो’, कोइरालाले भन्नुभयो, ‘हामीहरुमध्ये एक जनामात्रै उम्मेदवार नभए त हामीले फेरि शेरबहादुर देउवाजीलाई बुझाइदिए हुन्छ ।’
आसन्न महाधिवेशनमा कांग्रेस सभापतिमा शेरबहादुर देउवा आफैँ दोहोरिन चाहनुभएको छ भने उहाँलाई उपसभापति विमलेन्द्र निधिले चुनौती दिइरहनुभएको छ । संस्थापनइतर समूहबाट भने वरिष्ठ नेता पौडेलसहित चार आकांक्षी छन् ।
यसैबीच आसन्न महाधिवेशमा सभपातिको दाबी गरिरहनुभएका नेता प्रकाशमान सिंह सुटुक्क दिल्लीतर्फ लाग्नुभएको छ । आज बिहान मात्रै सिंहले पौडेल समूह त्यागेको खबर आएको बेला साँझ उहाँ दिल्लीतर्फ लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।