काठमाडौँ । नेकपा एमालेका नेता केशव बडालले वर्तमान अध्यक्ष केपी शर्मा ओली नै अध्यक्ष हुनु पर्छ भन्ने ९५ प्रतिशत कार्यकर्ताको धारणा रहेको दाबी गर्नुभएको छ । उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला बडालले ओलीविरुद्ध कसैले उम्मेदवारी दिएपनि फरक नपर्ने ठोकुवा गर्नुभयो ।
उपाध्यक्ष रावल उम्मेदवार बन्ने निश्चित भइनसकेको प्रष्ट पार्दै उहाँले समुहगत रुपमा नभई व्यक्तिगत रुपमा जोकसैले जुन पदमा पनि उमेद्धारी दिँदा पार्टीलाई कुनै असर नपर्ने बताउनुभयो । पार्टीको वडा अधिवेशनमा अधिकांश प्रतिनिधिहरु सर्वसमत चयन भएको भन्दै बडालले केन्द्रीय नेतृत्व पनि सर्वसमत हुनुपर्ने पार्टीका कार्यकर्ता र सुभेक्षुकहरुको धारणा रहेको बताउनुभयो । योग्यता पुगेको व्यक्तिले प्रतिस्पर्धामा उत्रिँदा कुनै आपत्ति नहुने पनि उहाँको भनाइ छ ।
नेता बडालले एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले डढेलधुरा पुगेर एमाले समाप्त हुँदैछ भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै झिंगाको सरापले डिंगो नमर्ने टिप्पणी गर्नुभयो । “एमाले विरुद्ध धोकाधढीमा लागि रहेका माधव नेपाललाई हामीहरुले तिन पटकसम्म पार्टी प्रमुख र एक पटक प्रधानमन्त्री बनाएका हौं, तर अहिले उहाँ जुन बाटोमा हिड्नुभएको छ त्यसको हिसाव किताव नेपाली जनताले गर्ने छ,” नेता बडालले भन्नुभयो ।