काठमाडौँ । प्रधानमन्त्री शेरहादुर देउवाले गणकहरूलाई सही विवरण उपलब्ध गराउन आग्रह गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै उहाँले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न उहाँले सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले सन्देशमा जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्नुभएको छ । जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहेका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गर्नुभएको छ । यसबाट प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुने सन्देशमार्फत उहाँले बताउनुभएको छ ।