Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पौडेल समूहमा दन्क्यो असन्तुष्टिको आगो, रामचन्द्रले भने- नआत्तिनुस्

पौडेल समूहमा दन्क्यो असन्तुष्टिको आगो, रामचन्द्रले भने- नआत्तिनुस्

  • बुधवार, कार्तिक २४ २०७८

  • 484
    SHARES

  • पौडेल समूहमा दन्क्यो असन्तुष्टिको आगो, रामचन्द्रले भने- नआत्तिनुस्

    काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सत्ता गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजक बनेपछि उहाँको समूहभित्र खैलाबैला मच्चिएको छ ।

    महाधिवेशनको मुखमा पौडेललाई संयोजक बनाएर देउवाले पार्टीभित्रको प्रतिपक्षलाई कमजोर पार्न खोजेको तर पौडेलले कुरा नबुझेको भन्दै संस्थापनइतर समूह असन्तुष्ट बनेको हो ।

    प्रचण्डको खेल र देउवाको चालबाजीमा रामचन्द्र पौडेल फसेको कतिपय नेताहरुले टिप्पणी गरेका छन् । पौडेल समूहका नेता प्रकाशमान सिंहले त कानुनले नचिन्ने संयन्त्र बनाइएको भन्दै आक्रोश पोख्नुभयो । उहाँले लोकतान्त्रिक पार्टीको नेतृत्वमा सरकार रहेका बेला त्यसभन्दा माथि रहने गरी संयन्त्र बनाइनु संविधानविपरीत रहेको बताउनुभयो ।

    कांग्रेको पौडेल समूहका अरु थुप्रै नेताहरु पनि समन्वय समितिको संयोजक बनेपछि वरिष्ठ नेता पौडेलसँग असन्तुष्ट छन् । उनीहरुले संयन्त्रको संयोजक बनेपछि वरिष्ठ नेता पौडेलले पार्टीभित्रको प्रतिपक्षी बन्ने नैतिक हैसियत गुमाएको टिप्पणी गरेका छन् ।

    आलोचना चुलिन थालेपछि पौडेलले पार्टीभित्र देउवासँगको आन्तरिक प्रतिस्पर्धा जहाँको त्यहीँ रहेको भन्दै प्रष्टिकरण दिनुपरेको छ । आफू समितिमा रहेकोप्रति कोही आत्तिनु नपर्ने उहाँले बताउनुभयो ।

    यता कांग्रेसको संस्थापन समूहका नेताहरुले भने उच्चस्तरीय राजनीतिक समन्वय समितिले सरकारलाई नियन्त्रण नगर्ने दाबी गरेका छन् । प्रधानमन्त्री देउवानिटक नेता रमेश लेखकले पौडेलको नेतृत्वमा बनेको समितिले सरकारलाई कुनै हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो । सत्तारुढ गठबन्धनलाई बलियो पार्न मात्रै यो समिति गठन भएको उहाँले बताउनुभयो ।

    सत्ता गठबन्धनले बनाएको दलीय संयन्त्रप्रति सत्ताको नेतृत्व गरिरहेको दलभित्र विवाद सल्केका बेला प्रमुख विपक्षी दल नेकपा एमालेले पनि यसलाई संविधानविपरीत भनेको छ ।

    एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कानुनले नचिन्ने संयन्त्रमार्फत सरकारलाई नियन्त्रण गर्न खोज्नु संविधानविपरीत हुने टिप्पणी गर्नुभएको छ । यो संयन्त्रलाई कतिपय एमाले नेताहरुले पञ्चायतकालीन भूमिगत गिरोहको संज्ञा पनि दिएका छन् ।


    बुधवार, कार्तिक २४ २०७८०७:५५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij