काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का डडेलधुरा अध्यक्षसहित ठूलो संख्यामा नेता कार्यकर्ताले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । एमाले डडेलधुराका अध्यक्ष डा. तारा जोशीको नेतृत्वमा एमाले परित्याग गरेर ठूलो समूह एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।
एमालेको बहुमत संख्याको जिल्ला कमिटी नै समाजवादीमा प्रवेश गर्न लागेपछि डडेलधुरामा एमालेलाई ठूलो धक्का लाग्ने भएको छ । उनीहरुलाई पार्टीमा प्रवेश गराउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डडेलधुरा जाँदै हुनुहुन्छ । पार्टीका सुदूरपश्चिम सहइन्चार्जसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसमेत पार्टी अध्यक्षसँगै डडेलधुरा जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेलधुराका एमाले अध्यक्ष जोशी २०७४ सालको प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका कर्ण मल्लसँग पराजित हुनु भएको थियो ।