काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि तलसम्मकाले मनपरी गरेको आरोप लगाउनुभएको छ । पार्टीमा विधि पद्धतीलाई लत्याउदै मनपरीतन्त्र चलिरहेको नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले गुनासो गर्नुभयो ।
अध्यक्ष र केही व्यक्तिहरुले गुटबन्दीपूर्ण बैठक गर्ने र मनपरी निर्णय गर्ने जस्ता कूकार्य गरेकाले त्यसविरुद्ध र एमालेको असल परम्पराको पक्षमा आफू उभिएको उहाँले दाबी गर्नुभयो । महाधिवेशनको मुखमा सदस्यता नविकरण, विभिन्न पदमा मनोनयन, प्रतिनिधि छनौट लगायतका कार्य मनपरी तरिकाले भइरहेको उहाँको भनाइ छ ।
“कथित बैठक गरिएको छ, कथित समायोजनको नाममा झुटा नामावली तयार पारिएको छ, जिल्ला कमिटिलाई कुनै जानकारी छैन, माथिदेखि तलसम्म मनपरी छ,” उहाँले भन्नुभयो । उपाध्यक्ष रावलले सुदुरपश्चिम प्रदेशमा अन्तरपार्टी निर्देशन विपरित कथित बैठक बसेको र जिल्ला जिल्लामा हुँदै नभएका व्यक्तिहरुलाई राखेर एमालेको विधान र नियमावली विपरितको कार्यहरु भैरहेको भन्दै रोष प्रकट गर्नुभयो ।
“सुदुर पश्चिम प्रदेशमा एमालेको सृजनाकार, निर्माता र सञ्चालनकार म हुँ, त्यसैले अहिले आएर कसैले सर्वेसर्वा म हुँ अरु केहिपनि होइन भनेर एकलौटी निर्णय गर्न मिल्दैन” उहाँले भन्नुभयो । लोकतान्त्रिक पार्टी भनिएपनि एमालेमा अहिले लोकतान्त्रिक परिपाटी नभइ व्यक्तिवादी प्रवृत्ति हावी भएको नेता रावलको आरोप छ ।
पार्टीमा चरम विकृति र विसंगती भएकाले नै कार्यकर्ताहरुले आफूलाई अध्यक्षमा उम्मेदवारी दिन सुझाव दिएको उहाँले बताउनुभयो । कार्यकर्ताहरुको सुझाव र चाहनालाई आफुले सम्मान गर्ने बताएको, तर अहिले नै उम्मेदवारी घोषणा भने गरिनसकेको उहाँले स्पष्ट पार्नुभयो ।