काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उहाँको विश्वास छ ।
छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।