नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाउनुभएको छ । आफूले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट पार्टीविरुद्धका गतिविधि पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खोजेको उहाँको टिप्पणी छ ।
‘फोन गरेर प्रदेशस्तरीय बैठकमा आउन आग्रह गर्दा आउँदिनँ भन्ने रावलले सामाजिक सञ्जालको दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्याउन खोजेका छन्,’ प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भन्नुभयो, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’
उहाँले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताउनुभयो । ‘रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’
उहाँले सामाजिक सन्जालमार्फत नभइ बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गर्नुभयो । एमाले लोकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राख्न पाउने उहाँले बताउनुभयो । ‘तर, पार्टीका गतिविधि मान्दिनँ भन्ने अनि सामाजिक सन्जालमा नानाथरी लेख्ने काम राम्रो हैन,’ उहाँले भन्नुभयो ।
एमाले उपाध्यक्ष रावलले समाजिक सञ्जालमा आज बिहान धनगढीमा बसेको बैठक प्रदेशस्तरीय नभइ गुटको भेला भएको आरोप लगाउनुभएको थियो ।
बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।