नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनले बनाएको सरकारलाई सहयोग गर्ने समन्वय समितिमा बसे पनि पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा कायमै रहेको बताउनुभएको छ ।
दुई महिनाका लागि पौडेल समन्वय समितिका संयोजक छन् । आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँग लडाइँ कायमै रहेको संकेत पनि पौडेलको छ ।
समग्र व्यवस्थाको हित र रक्षाको निम्ती एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भए पनि पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उहाँले बताउनुभयो ।
मंसिरमा हुने पार्टीको महाधिवेशनमा लोकतान्त्रिक प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।
‘आन्तरिक लोकतान्त्रिक लडाइँ, आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा जहाँ थियो, जहाँ छ त्यो त्यहीँ रहन्छ र त्यही अगाडी बढ्छ,’ उहाँले भन्नुभयो, ‘महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ । लोकतान्त्रिक प्रतिस्पर्धा, लोकतान्त्रिक मर्यादाभित्र रहेर हुन्छ । के कमिकमजोरी हुन्, त्यसलाई हटाउने उद्देश्य राखेर खुल्लम् खुल्ला आम कार्यकर्तालाई अपिल गरेर उनको साथ लिएर पार्टीमा सुधार ल्याउने कुरा अगाडि नै बढ्छ ।’
उहाँले समन्वय समितिले सरकारका कामलाई हस्तक्षेप नगर्ने पनि बताउनुभयो ।