काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएनले आजदेखि दोस्रो चरणको आन्दोलन गर्दै छ भने सर्वाेच्च अदालतका न्यायाधीशहरूले पनि उनको इजलास बहिष्कार यथावत् राख्ने बताएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएनले आजदेखि कात्तिक ३० गतेसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार आजदेखि ३० गतेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिने नेपाल बारले जनाएको छ ।
यस्तै कात्तिक २८ देखि ३० गतेसम्म देशभरका आफ्ना ९० वटै एकाइमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरिने नेपाल बारले जनाएको छ। यस्तै प्रधानन्यायाधीशले अध्यक्षता गर्ने न्यायपरिषद्, न्याय सेवा आयोगजस्ता निकायका बैठकमा सहभागी नहुन नेपाल बारले सम्बन्धित सदस्यहरूलाई आग्रह गरेको छ ।
यसैगरी बारले प्रधानन्यायाधीश जबराले सर्तविपरीत आफ्नो पनि इजलास तोकेमा त्यसमा नबस्न सर्वोच्च अदातलका बाँकी सबै १९ न्यायाधीशलाई आग्रह गरेको छ । कात्तिक ३० गतेसम्म पनि प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलनका कार्यक्रम गरिने चेतावनी नेपाल बारले दिएको छ ।
तर प्रधानन्यायाधीश जबरा भने आजैदेखि ‘पेलेरै’ अघि बढ्ने निष्कर्षमा पुग्नुभएको छ । उहाँले आजदेखि सबै मुद्दामा पेसी तोक्ने तयारी गर्नुभएको बताइएको छ । १५ दिनदेखि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा सुनुवाइ हुन सकेको छैन ।