काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादीसँग कम्युनिष्टको ह्याङ्ओभर हुँदासम्म एकता हुन नसक्ने स्पष्ट पार्नु भएको छ । केही दिनपहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका लागि सार्वजनिक रुपमै आह्वान गरेपनि उहाँले अहिले नै एकता हुन नसक्ने स्पष्ट पार्नु भएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा अध्यक्ष यादवले भन्नुभयो, ‘माओवादीसँग अहिले नै एकता हुदैन, सहकार्य भने हुन्छ ।’ माओवादीमा अझै पनि कम्युनिष्टको ह्याङ्ओभर भएकाले एकता गर्न नसकिने उहाँको भनाई थियो । माओवादीले कम्युनिष्टको ह्याङ्ओभर त्यागेमा मात्रै एकता हुन सक्ने उहाँले बताउनु भयो । “हामी समाजवादी हौँ, उहाँहरु अझै कम्युनिष्ट हुनुहुन्छ, कम्युनिष्ट चरित्र त्यागेर समाजवादी हुनुभयो भने एकता हुन्छ,” अध्यक्ष यादवले भन्नुभयो ।
उहाँले सहकार्य भने माओवादीसँग मात्रै नभइ पाँच दलिय गठवन्धनमा रहेका सवै दलहरुका बीचमा हुने बताउनुभयो । आगामी निर्वाचनसम्म जानकै लागि गठवन्धन बनाएको स्पष्ट पार्दै उहाँले देशैभरी साझा उम्मेदवार उठाइने जानकारी दिनुभयो । “लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रीक गठवन्धन आवश्यक छ, त्यसैले हामी एकैठाउँमा उभिएका हौँ,” उहाँले भन्नुभयो । न्यायपालिकामा देखिएको विवादलाई आन्तरिक रुपमै समाधान गर्नु पर्ने र दलहरुले हस्तक्षेप गर्न नहुने उहाँको भनाई थियो ।