काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको छ । तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पछिल्लो समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले सबै खाले चाड पर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको बताउनुभएको छ । उहाँले तिहारका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।