काठमाडौँ । नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले न्यायालय भित्रको विवादमा दलहरुलाई नतान्न आग्रह गर्नु भएको छ । सर्वोच्च अदालतमा अहिले देखिएको विवादका बारेमा राजनीतिक दलहरु पनि बोल्नु पर्ने आवाज उठिरहेका बेला काँग्रेस नेता विश्वकर्माले दलहरु बोल्नु उचित नहुने तर्क गर्नुभएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले अदालतमा राजनीतिक हस्तक्षेप गर्नुहुदैन पनि भन्ने अनि अदालत भित्रको विवादका बारेमा भूमिका खेल्नु पर्यो पनि भन्ने कुरा विरोधाभासपूर्ण भएको टिप्पणी गर्नुभयो । अदालतको विवादका विषयमा दलहरु प्रवेश गरे भने राजनीतिक हस्तक्षेप हुने भएकाले दलहरु मौन बस्नु नै उपयुक्त हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “न्यायापालिका भित्रको विषय, त्यसमा पनि प्रधान न्यायाधिशको व्यक्तिगत कार्यशैलीको विषय भएकाले यसलाई आन्तरिक रुपमै टुग्याउनु पर्छ, बाहिर ल्याएर छताछुल्ल पार्नु हुँदैन ।” न्यायालय भित्रको विवादलाई बाहिरबाट समाधान खोजियो भने गलत परम्परा बस्ने र न्यायपालिका भित्रको विवाद एक पछि अर्को आइरहने चिन्ता पनि उहाँले व्यक्त गर्नुभयो ।
अदालतमा अवरोध र आन्दोलन गर्दा अदालतप्रतिको जनआस्थामा क्षती पुर्याउनुका साथै आम नागरिको अधिकारमा समेत असर पुगेको काँग्रेस नेता विश्वकर्माको भनाई छ । “निकासको जिम्मेवारी पनि न्यायपालिकाकै हो, उत्ताउलो, अराजक भएर हुदैन, गलत नजिर बस्नेगरी बार वा न्यायधिश कसैले गवितिविधि नगरौँ,” उहाँले भन्नुभयो ।