काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने चेतावनी दिनुभएको छ । आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको पनि उहाँले बताउनुभयो ।
आज बिहान भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले हिन्दी लवजमा भन्नुभयो, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा ।’ विभिन्न प्रदेश सरकारमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनेको चर्चा गर्दै नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको बताउनुभयो । उहाँले कर्णालीमा आफूहरुले टक्कर दिएर एमाले उठ्नै नसक्ने हालत पुगेको बताउनुभयो ।
अध्यक्ष नेपालले भ्रष्टाचार मुक्त भएर, सुशासनको मान्यताका साथ जनसेवाको मन्त्र बोकेर अगाडि बढ्न नेताहरुलाई निर्देशन दिनुभयो । आफूहरुले त्यही अनुसार मन्त्रीहरुलाई अगाडि बढाएको बताउँदै उहाँले राम्रो नगरे हटाइदिने चेतावनी समेत दिनुभयो ।