काठमाडौं – आगामी चुनावमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी लगायतका दलहरूलाई धोबीले लुगा पछारेझैँ पछार्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको कांग्रेस नेता गगन थापाले कडा प्रतिवाद गर्नुभएको छ ।
थापाले एमालेसँग एक्लै चुनाव लडेर कांग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा थापाले आगामी चुनावमार्फत एमालेलाई कुचो लगाएर बढार्ने र कहिँकतै धुलो अड्केको छ भने पनि भ्याकुम लगाइने बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले जालझेल गरेर एमालेका सरकार विस्थापित गर्नेहरुलाई आगामी चुनावमा धोबीले लुगा पछारेझैँ पछार्ने बताउनुभएको थियो ।
अहिले सत्तामा रहेको पाँच दलीय गठबन्धन चुनावबाट भागिरहेको आरोप पनि ओलीले लगाउनुभयो । दुई पटक सारेर चैतमा गर्ने भनिएको स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धनलाइ धोबीले लुगा पछारेझैँ पछार्ने उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष ओली लगायतका नेताहरुले सिंगल सिंगल भिडेर देखाउन गठबन्धनआबद्ध दलहरुलाई चुनौति दिइरहेका छन् । त्यसको जवाफ दिँदै कांग्रेस नेता थापाले सिंगल सिंगल भिडेर तेस्रो हुने एमालेले चर्काे कुरा गर्न नसुहाउने बताउनुभयो ।
ओलीले अहिलेको सरकार ढालिदिने भन्दै दिइरहेको अभिव्यक्ति सबथोक हारिसकेपछि सापटी माग्ने जुवाडेसँग मेल खाने गगनले बताउनुभयो
यता एमाले र एकीकृत समाजवादीका नेताहरुबीच तल्लो तहमा झरेर एकअर्काविरुद्ध खनिने क्रम रोकिएको छैन । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मेको सन्तानको संज्ञा दिएपछि सो पार्टीका नेता मेटमणि चौधरीले भट्टराई लगायतका नेतालाई अभिभावकहीनको संज्ञा दिनुभयो ।
आज दशौँ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख भट्टराईले एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मेको सन्तानको संज्ञा दिँदै महाधिवेशनमा नबोलाउने बताउनुभएको थियो ।
भट्टराईको यस्तो टिप्पणीपछि एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जवाफ फर्काउनुभयो । नेपाली रेडियो नेटवर्कलाई प्रतिक्रिया दिँदै उहाँले एमालेमा अभिभावकहीन भएर बसिरहेका नेताले अरुलाई अवैध भन्नु हाँस्यास्पद रहेको बताउनुभयो ।
राजनीतिक दल र तिनका नेताहरूले समाजलाई डो¥याइरहेका हुन्छन् । समाजमा यस्ता धेरै व्यक्ति हुन्छन् जसले नेताहरुको सिको गर्न रुची राख्छन् । तर तल्लो स्तरमा झरेर एकअर्कापति गरिने छुद्र टिप्पणीले समाजमा पवित्र सन्देश प्रवाह नभइरहेको कुरा नेताहरूले बुझिदिएको राम्रो हुन्छ ।