काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्हिरहेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिनुभएको छ ।
पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तरक्रियाका क्रममा एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिनुभएको हो ।
उहाँले अहिलेको सरकार कसैले ढलाएर नढल्ने बताए । “हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ । अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ,” उहाँले भन्नुभयो ।
वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिरया गर्न गाउँ गाउँ जाने गरेको बताउनुभयो । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उहाँले बताउनुभयो ।