काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिनुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा आफ्नो कर्याकालमा भएका कार्यप्रगतिबारे जानकारी गराउँदै आचार्यले पदबाट राजीनामा दिएको घोषण गर्नुभएको हो ।
आज दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेपछि आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाइसक्नुभएको छ । प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गर्नुभएको छ ।
१० भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्य २५ गते नै अल्पमतमा पर्नुभएको थियो । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गर्नुभएको थियो ।
उहाँले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी प्रस्ताव आजको बैठकमा मतदानमा लगिएन । योसँगै एमाले नेतृत्वको सबै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।