काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहासमा गर्व गरेर मात्रै जित निकाल्न नसक्ने बताउनुभएको छ । १३औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताउनुभयो ।
आज कीर्तिपुरमा भएको एक कार्यक्रममा उहाले दल कमजोर हुनुको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताउनुभयो । पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक कार्य गरेको उहाले आरोप लगाउनुभएको छ ।
विधि, पद्धति अवलम्बन नभए कांग्रेस प्रजापरिषद्को बाटोमा लाग्ने उहाले चेतावनी दिनुभएको छ । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू सभापति बन्नुपर्ने उहाको तर्क थियो ।
ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको उहाको दाबी छ । अदालत लगायतका निकायमा राजनीतिक नियुक्ति, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको उहाको जिकिर छ ।