काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता हरिहर दाहालले बारले प्रधानन्यायाधिश चोलेन्द्र समशेर राणाको राजीनामा नमागेको स्पष्ट पार्नु भएको छ ।
बारसँग सम्वन्धीत धेरै निर्णय र सहमतीहरु प्रधानन्यायाधिश राणाले कार्यान्वयन नगरेको र निर्णयहरुप्रति नकारात्मक टिप्पणी गरेकाले मार्ग प्रशस्त गर्न मात्रै आग्रह गरेको उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले न्यायालयको शुद्धिकरणका कामहरु नगरेको र अविश्वास बढेकाले समस्या सृजना भएको उल्लेख गर्नुभयो ।
“प्रधानन्यायाधिशले मार्ग प्रशस्त गर्नु पर्ने धारणा बारको हो, तर राजीनामा दिने नदिने कुरा प्रधानन्यायाधिशकै हो,” बरिष्ठ अधिवक्ता दाहालले भन्नुभयो ।
राणालाई राजीनामा गराएर बरिष्ठतम न्यायाधिश दिपक कार्कीलाई प्रधानन्यायाधिश बनाउन चाहेको भन्ने आरोपको उहाँले खण्डन गर्नुभयो । बेन्च वार समन्वय समितिमा बारको तर्फबाट सदस्य समेत रहनु भएका दाहालले समन्वय गराउन गाह्रो भइरहेको अनुभव सुनाउनुभयो ।
संवैधानिक इजलाशमा रहेका मुद्धाहरु अगाडि बढाएको, गोलाप्रथा व्यवस्था लागु गरिदिएको र न्यायाधिश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदनप्रति सकारात्मक भइदिएको भए यस्तो अवस्था नआउने बरिष्ठ अधिवक्ता दाहालको दावी छ ।