काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउनुभएको छ । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाको तर्क थियो ।
‘अर्ली इलेक्सन हुँदैन। बडो क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा, सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली इलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन’, आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले भन्नुभयो ।
उहाले राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिनुभयो । दाहालले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाडि बढाउन आफूहरु तयार रहेको बताउनुभयो ।
यस्तै, सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने पनि उहाले बताउनुभएको छ । अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पार्नुभयो ।
उहाले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनुभयो । दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दाबी पनि गर्नुभएको छ ।